बारामा तरकारी किसानको प्रदर्शन

-



     सफल आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित



वीरगञ्ज, ७ चैत । बाराका तरकारी किसानले प्रदर्शन गरेका छन् । किसानहरुले कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले कलैया बजारमा किसानलाई सेड उपलब्ध गराउन र नगर प्रहरीले जफत गरेको तरकारीको क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

सेडमा ठाउँ नभएपछि कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी तथा तरकारी नगर प्रहरीले जफत गरेको किसानहरुको भनाइ छ ।

जफत गरिएको तरकारी किसानलाई बेलैमा फिर्ता दिनुको साटो कुहाएको उनीहरुको गुनासो छ । किसानहरुका अनुसार नगर प्रहरीले ३ चैतमा ५० जना जति किसानले बिक्रीका लागि राखेको तरकारी जफत गरेको थियो ।

कलैया उपमहानगरपालिका–८ का रोहित चौरसियाले उपमहानगरले किसानलाई क्षतिपूर्ति दिनुको साटो कुहिएको तरकारी लगेर बेच्न भनिरहेको बताएका छन् ।

किसानको मागको सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनी किसानहरुले दिएका छन् ।

कलैयाका मेयर विनोद साहले समस्या समाधानका लागि वार्ता गर्ने बताएपछि प्रदर्शनमा उत्रिएका किसानहरु फर्केका छन् ।