नेपाललाई १ खर्ब ३८ अर्ब १० लाख वैदेशिक सहायता दिने प्रतिबद्धता

-



     सफल आवाज    
     चैत्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौँ, १२ चैत । नेपालाई १ खर्ब ३८ अर्ब १० लाख रुपैयाँ वैदेशिक सहायता दिने प्रतिवद्धता भएको छ । उक्त प्रतिवद्धता चालु आर्थिक वर्षको मसान्तसम्ममा पाउने भएको हो ।

अर्थ मन्त्रालयका अनुसार ८ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाखबराबर अनुदान र १ खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले २ खर्ब ४२ अर्ब २६ करोड बराबर वैदेशिक ऋण र ५५ अर्ब ४६ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा वैदेशिक ऋण प्रतिबद्धता ४७ प्रतिशत र वैदेशिक अनुदान प्रतिबद्धता ४४.२८ प्रतिशत बराबर हो ।

अर्थ मन्त्रालयका अनुसार यो अवधिमा जापान सहयोग नियोग (जाइका)बाट ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप’ (जेडीएस) कार्यक्रमका लागि ३५ करोड, जाइकाले ‘तराई क्षेत्र सिँचाइ प्रणाली सुदृढीकरण परियोजना’का लागि २ अर्ब, युरोपियन युनियनबाट ‘वास फर अल’ परियोजनाका लागि १ अर्ब ३७ करोड र ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमका लागि २ अर्ब अनुदान प्रतिबद्धता पाएको छ ।

८ महिनामा स्विट्जरल्यान्ड सरकारबाट ‘प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम’का लागि ९९ करोड १० लाखबराबर अनुदान सहायताका प्रतिबद्धता आएको छ। दक्षिण कोरिया सरकारले कोरियाबाट फर्किएका कामदारको उद्यमशीलता विकासका लागि १ अर्ब र नेपाल प्रहरीको साइबर ब्युरोको क्षमता विकासका लागि १ अर्ब अनुदान प्रतिबद्धता पाएको आर्थ मन्त्रालयले जनाएको छ ।

त्यसैगरी एसियाली विकास बैङ्क (एडीबी)ले नेपालको पहाडी क्षेत्रमा फलफूल तथा ओखर खेती प्रवद्र्धनका लागि २ अर्ब ४७ करोड, महिलाको क्षमता विकास कार्यक्रमका लागि १ अर्ब ५७ करोड, बेलायत सरकारले सुरक्षा तथा न्याय प्रणाली क्षमता विकास कार्यक्रम फेज–२ का लागि ५ अर्ब २६ करोड, स्थानीय पूर्वाधार कार्यक्रमका लागि १ अर्ब ४४ करोड, नर्वे सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि २ अर्ब ५७ करोड र फिनल्यान्ड सरकारले विद्यालय शिक्षा क्षेत्र योजनाका लागि २ अर्ब ५४ करोड प्रतिबद्धता जनाएको छ ।

वैदेशिक ऋण सहायतातर्फ विश्व बैङ्कमार्फत ‘ग्रिन रेजिलेन्स एन्ड इन्क्लुसिभ डेभलपमेन्ट’ (ग्रीड) कार्यक्रमका लागि १२ अर्ब ७५ करोड, विश्व बैङ्कले क्षेत्रीय यातायात तथा व्यापार कनेक्टिभिटी परियोजनाका लागि ३४ अर्ब ९६ करोड र ‘डिजिटल नेपाल एक्सिलेरेसन कार्यक्रम’का लागि १७ अर्ब ७९ करोडबराबर ऋण दिने प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ ।