बिर्तामोडमा जग्गाको कित्ताकाट खुला

-



     सफल आवाज    
     चैत्र १३ गते २०७९ मा प्रकाशित



झापा, १३ चैत । झापाको बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट खुलेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

जग्गा वर्गीकरणका सबै प्रक्रिया पूरा कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई गत फागुन २१ गते पत्राचार भई गत आइतबारदेखि कित्ताकाट खुलेको न्यौपानेको भनाई छ ।

बिर्तामोड ७, ८ र ९ को जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ भने वडा नम्बर ६ र १० को पुनः सूचना प्रकाशन गरेर अन्तिमरुप दिने काम भइरहेको पालिको भनाई छ ।

नगरपालिकाले स्थानीय भू–उपयोग परिषद्को सिफारिसमा भू–उपयोग ऐन र स्थानीय कार्य फछ्र्योट नियमावलीको अधिकार प्रयोग गरी जग्गा वर्गीकरण तथा विकाससम्बन्धी कार्यविधि २०७९ जारी गरेको छ ।

उक्त कार्यविधिमा एक वर्षमा एक जना व्यक्तिले एउटा जग्गामा तीन पटकसम्म कित्ताकाट गर्न पाउने र बढीमा चार पटकसम्म बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ ।

कार्यविधिमा कित्ताकाट हुने जग्गाको मोहडा कम्तीमा ३३ फुट र त्यसको तीन गुणासम्म मात्र पछाडि लम्बाइ रहने व्यवस्थासमेत गरेको छ ।

नगरले निर्माण गरेको कार्यविधिमा नगरवासीले आफ्नो जग्गाधनी पुर्जा अद्यावधिक गर्नुपर्ने र अद्यावधिक गर्दा जग्गा वर्गीकरण गरिएको क्षेत्रमा राखिने नगरपालिकाले जनाएको छ ।

सरकारले गत जेठमा भू–उपयोग नियमावली लागू गर्दै स्थानीय तहलाई जग्गा वर्गीकरणको अधिकार दिएको थियो । उक्त नियमावलीअनुसार जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरिएको थियो ।

यसमा नेपालको जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन् ।