अर्थतन्त्र सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

-



     सफल आवाज    
     चैत्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ चैत । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने बताएका छन् ।

फ्लोरिकल्चर एसोसिएसनद्वारा आज यहाँ आयोजित २४औं फ्लोरा एक्स्पोको शुभारम्भ गर्दै उनले अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न आवश्यक रहेको र यसका लागि सरकारले गृहकार्य थालिसकेको जानकारी दिए ।

‘अहिलेको अर्थतन्त्रको अवस्थालाई अब हामी यथास्थितिमा राख्दैनौं। सरकारले तत्काल सुधारका प्रयास गर्नेछ’, उनले भने ‘यसका लागि गम्भीर गृहकार्य पनि सुरु भइसकेको छ ।’

अहिलेको राष्ट्रिय कार्यभार मुलुकलाई समृद्ध र विकासशील बनाउने रहेको बताउँदै उनले त्यसका लागि सरकार, निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रको उत्तिकै भूमिका रहने उल्लेख गरे।

‘तीनखम्बे अर्थ नीतिअनुसार सबै क्षेत्रलाई समेटर अघि बढ्न सरकार तयार छ’, मन्त्री श्रेष्ठले भने, ‘अहिलेको आर्थिक समस्यालाई सरकारले निजी क्षेत्रको मात्र समस्याका रुपमा लिएको छैन। यो समग्र देशकै समस्या हो । यसलाई सबैले मिलेरै समाधान गनुपर्छ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले उठाएका विषय र सरकारलाई दिइएका सुझाव समयमै कार्यान्वयन हुन नसक्दा अहिले देशको आर्थिक अवस्था खस्किँदै गएको बताए।

‘निजी क्षेत्रले अहिलेको आर्थिक स्थिति आउँछ भनेर पहिल्यै अनुमान गरेको थियो’, उनले भने, ‘हामीले उठाएका विषय निजी क्षेत्रको मात्र नभएर मुलुकको अर्थतन्त्रमै दीर्घकालीन रुपमा प्रभाव पार्नसक्ने खालका थिए । तर निजी क्षेत्रले दिएका सुझाव सरकारले कार्यान्वयन गरेन ।’

फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढ्न गएको बताए ।

‘बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न सकेका छैनन्’, उनले भने, ‘परियोजना धितो राखेर सजिलै परियोजना कर्जा पाउने र महिला उद्यमीका लागि पनि बिना धितो महिला उद्यमी कर्जा प्रवाह गरिनुपर्छ ।’

अहिले पुष्प व्यवसायमा ७ अर्ब बराबरको लगानी र २ अर्ब ३० करोडको वार्षिक कारोबार रहेको जनाइएको छ। गत वर्षको तथ्यांकअनुसार भारतबाट ३६ अर्ब रूपैयाँ बराबरको पुष्प आयात भएको कार्यक्रमा जानकारी दिइएको थियो ।