
म्याग्दी, १९ चैत । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो ।
सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न गरेको छन् । खबराका १६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेकोे केरा खेतीबाट २ गाउँका किसानले वार्षिक डेढ करोड आम्दानी गर्दै आएका छन् ।
खबराका किसानले केरा खेतीबाट वार्षिक १ करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेको छन् भने बगरफाँटका किसानले वार्षिक ५० लाख रुपयौँको हाराहारीमा केरा बिक्रि गर्ने गरेको छन् । यी २ गाउँ पछिल्लो समय केरा गाउँको रूपमा चिनिन थालेका छन् ।
व्यापारीहरु केरा बगानमै आएर खरिद गर्ने गरेकोे खबराका किसान शोभत शर्मा सापकोटाले बताए । यहाँका किसानले १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । “बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको छ । मैलै १० वर्षदेखि केरा खेती गर्दै आएको छु । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्”, उनले भने ।
खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान चन्द्रबहादुर कार्कीले बताए । यस क्षेत्रमा केरा खेतीको सुरुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बताउँछन् ।
थापा र कार्कीले सुरु गरेकोे केरा खेती १२ वर्षदेखि व्यवसायिक बन्दै गएको स्थानीयको भनाइ छ । अहिले गाउँनै ढाक्ने गरी खेती गरिएको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान आकर्षित भएका उनको भनाइ छ । खबराका प्रत्येक घरधुरीले व्यावसायिकरुपमा हजारी जातको केराको खेती गरेको छन् । यहाँका किसानले वार्षिक १ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको कार्कीले बताए ।
स्थानीय शोभित सापकोटाले १० वर्षदेखि व्यावसायिक केरा खेती गरेर गाउँमा पक्की घर बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी हुने गरेकोे उनले बताए । परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको सापकोटाको भनाइ छ ।
थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन् । बिरुवा रोपेको २ वर्षमा पसाउन थाल्ने र पसाएको ५ महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ ।
“धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ”, बबिता सापकोटाले भन्छिन्, “पाँच रोपनीमा केरा खेती गरेको छौँ । वार्षिक ४ देखि ५ लाखसम्म आम्दानी हुन्छ ।”
उनले १० वर्षदेखि केरा खेती गर्दै आएकी हुन् । छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ । सापकोटाले भनिन्, “केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौंँ राखेर पढाउन पुगेको छ ।”
उनले उत्पादन भएको केरा घरबाटै बिक्री हुने बताइन् । सापकोटाले भनिन्, “केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन १२० रुपैयाँमा बिक्री हुन्छ ।”
खबराका हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने गरेकोे उनले बताए । “राम्रो भयो भने केराको एक घारीमा ७०० देखि ८०० सम्म कोसा हुन्छ”, उनले भने, “एक घारीको ४ हजार २०० सम्ममा बिक्री गरेकोे छु ।”
बेनी नगरपालिका–२ बगरफाँटका किसानले धान फल्ने खेतमा केरा खेती गरेको छन् । धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन् ।
केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको किसान खिमबहादुर कार्कीले बताए ।
उनले खेतका गह्रामा ५०० केराका बिरुवा लगाएका छन् । उनका अनुसार ३०० केरा घरीले उत्पादन दिन थालेका छन् । किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने ४ रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उनले बताए ।
गत वर्षको जेठमा यहाँका किसानले करिब २ हजार केराका बिरुवा लगाएका छन् । पाकेको केरा प्रतिदर्जन १०० रुपैयाँका दरले बिक्री हुने गरेकोे छ । एउटै घारीबाट १ हजार कोसासम्म उत्पादन हुने गरेकोे किसानको भनाइ छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




