आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ : प्रधानमन्त्री दाहाल

-



     सफल आवाज    
     वैशाख २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन प्रस्तुतीकरणमा प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको प्रतिवेदनले उठाएका विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन ।

महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनले औँल्याएका विषयमा महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले प्रस्तुतीकरण गरेका थिए । उनले बेरुजु फर्च्याैटका सन्दर्भमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम, नीतिगत सुधार र अर्थ प्रशासनसँग जोडिएकाले गर्नुपर्ने काम लगायत विषयमा प्रस्तुतीकरण केन्द्रित थियो ।

आर्थिक अनुशासन कायम गर्ने सवालमा कुनै पनि तलमाथि गर्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बेरुजु फर्च्याैट गर्ने सम्बन्धमा प्रतिवेदनले औँल्याएका विषयवस्तुलाई कार्ययोजना सहित कार्यान्वयन गर्नुपर्ने बताएका थिए । उनले आर्थिक विषयमा जिम्मेवारी लिएकाले इमान्दार भएर काम गर्न र पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह समेत गरे ।

मुख्यसचिव शङ्करदास बैरागीले महालेखाले उठाएका सवालमा कुनै तलमाथि नहुने गरी कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका थिए । महालेखाले क्षेत्रगतरुपमा औँल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गर्न र कमजोरी नगर्न र आर्थिक अनुशासन कायम गर्न पनि बेरुजु फर्च्याैटमा निर्मम बन्नै पर्ने उनको भनाइ रहेको नायब महालेखा परीक्षक रवीन्द्रप्रसाद देवकोटाले जानकारी दिएका छन।