सेयर बजारमा छायो हरियाली, कारोबार ७३ करोडमा सिमित

-



     सफल आवाज    
     वैशाख २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ वैशाख । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ ।
केहि दिनको अन्तरालमा नेप्से उकालो लाग्दा लगानीकर्ता जोशिएका छन् । सबै सूचकांकहरुमा हरियाली छाएको भएपनि कारोबार रकममा उल्लेखनिय प्रगति देखिएन । कारोबार एक अर्बभन्दा तल नै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.०७ अंकले बढेर ३५७.९१ विन्दुमा पुगेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरुको सेयर बढेको छ । कुल २७६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको २५ लाख ३३ हजार ७१४ कित्ता सेयरको खरिदबिक्रीबाट ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ ८९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयरको ४ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल ग्रोथ फण्डको सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य ९.८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नबिल डिबेन्चर ८.५ प्रतिशत २०८७÷२०८८ को सेयरमूल्य घटेको छ । उक्त डिबेन्चरको सेयरमूल्य ५.८५ प्रतिशतले घटेको हो ।