
चितवन, ३० वैशाख । जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले विश्वविद्यालय अनुदान आयोगको ‘एनइएचइपी’ परियोजनाअन्तर्गत उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।
विश्वविद्यालयले माग गरेको आशयपत्रको मूल्याङ्कनअनुसार १८ वटा क्याम्पसमा यस परियोजनामा छनोट भएकोमा ती क्याम्पसले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर कार्यक्रम कार्यान्वयनको लागि अहिले पाठ्यक्रम निर्माण गरी तालिम र आर्थिक सहायतालाई इच्छुक उद्यमी छनोट गर्ने चरणमा रहेको जानकारी दिइयो ।
कार्यक्रममा प्रतिवर्ष प्रतिक्याम्पस ३० जना विद्यार्थी, पूर्वविद्यार्थी र युवा प्राध्यापक छनोट हुने छन् । तालिम प्राप्त गरिसकेपछि मूल्याकङ्नमा छनोट भएमा आफ्नो व्यावसायिक सोचअनुरुपको प्रस्ताव पेस गरेर विश्वविद्यालय अनुदान आयोगको मापदण्ड पूरा गरेपछि प्रस्तावित लगानी रकमको ६० प्रतिशत विश्वविद्यालयले बेहोर्ने छ । रु पाँच लाखदेखि रु ४० लाखसम्म प्रतिप्रस्ताव सहायता रकम प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यो रकम तीन वर्षसम्म बिनाब्याज प्रयोग गर्न पाइने छ । सहायता रकम पाउन कार्यक्रमको प्रक्रियाभित्र रही आवेदन पेस गरेपछि प्राप्त आवेदनमध्येबाट प्रत्येक क्याम्पसमा गठन भएको निर्णायक समितिले इच्छुक उद्यमी छनोट गर्ने छ । क्याम्पसबाट छानिएको आवेदन विश्वविद्यालय अनुदान आयोगले स्वीकृत गरेपछि मात्र तोकिएको अनुदान किस्ताबन्दीमा व्यवसायको प्रगतिअनुसार प्राप्त गर्नसक्ने छन् । प्राप्त अनुदान रकम उद्यमशीलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ ।
यही जेठ १० गतेबाट उद्यमी बन्न चाहने व्यक्तिमध्येबाट तीनवटै क्याम्पसले एकै समयमा आवेदन माग गर्ने जनाइएको छ । आवेदन सङ्कलनको समय १५ दिन हुनेछ । निश्चित प्रक्रिया र मापदण्ड पूरा गरेका आवदेन छनोट गरिसकेपछि चितवनका तीनवटै क्याम्पसले असारको पहिलो हप्ताबाट कम्तीमा ४५ घण्टा प्रशिक्षार्थीलाइ तालिम दिइने छ । चितवनलाई उद्यमशीलता र नवप्रवर्तनको केन्द्रको रुपमा विकास गर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ ।
पत्रकार सम्मेलनमा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतो, कपिल सुवेदी, सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख बुद्धिराज सेढाइ, सागर तिवारी, प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइसन्सका चोकबहादुर क्षेत्रीलगायतले कार्यक्रमका बारेमा जानकारी गराए।