सेयरबजारमा झिनो अंकको गिरावट, साडे ७२ करोडकाे काराेबार

-



     सफल आवाज    
     जेठ १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ जेठ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । हालै नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षापछि उकालो लाग्ने आशा गरिए पनि बजार अझैं सहज किसिमले अगाडी बढ्न सकेको छैन ।

सेयर बजारका जानकारहरुले अब बजारमा नकारात्मक प्रभाव आर्थिक वर्ष २०८०-२०८१ को बजेट आउँदासम्म पर्ने आकलन गरेका छन् । बजेट कस्ताे आउछ बजारमा पनि साेहि अनुसारकाे प्रबृति देखिनेछ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३४ अंकले घटेर १८१८.३१ विन्दुमा झरेको छ । नेप्सेमा ०.१९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.५७ अंकले घटेर ३४९.०१ विन्दुमा पुगेको छ ।

यसदिन १३ वटा उपसमूहरुमध्ये चार वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ९ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

यसदिन कुल २६६ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २३ लाख ४१ हजार २४० कित्ता सेयरको खरिदबिक्रीबाट ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसि एशिया बैंकको कारोबार भएको छ । बैंकको ३ करोड ४ लाख ६७ हजार ४६९ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल ग्रोथ फण्डको सेयरमूल्य बढेको छ । फण्डको सेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.४५ प्रतिशतले घटेको हो ।