स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड र पूर्व-पश्चिम राजमार्गको लागि ३१ अर्ब २ करोड विनियोजन

-



     सफल आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा सरकारले प्रकाशशरण महतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उनले साे कुरा बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको महतले बताए । चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट बढाइएको थियो । अहिले पनि स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरबाटै राम्राे बनाउने उद्देश्यले बजेट बढाएको डा महतले बताए । उनले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको लागि आर्थिक वर्ष २०८०/८१ को बजेट बनाइएकाे बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएकाे छ। उनले नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेकाे बताए । यसरी हेर्दा भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको छ। चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन

पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने भएकाे छ । यसका लागि ३१ अर्ब २ करोड विनियोजन गरिएकाे छ । नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कमला-ढल्केवर-पथलैया, वुटवल-गोरूसिङ्गे, काकडभिट्टा-लौकही, पथलैया-नारायणगढ र लमही-भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरु गरिने छ।

नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु हुने उनले बताएका छन्। पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिएका हुन् ।