घोराही सिमेन्ट इन्डष्ट्रीले ७९ लाख ४३ हजार कित्ता सेयर जारी गर्ने

-



     सफल आवाज    
     जेठ १९ गते २०८० मा प्रकाशित



काठमाडाैं, १९ जेठ। घोराही सिमेन्ट इन्डष्ट्रीले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर जारी गर्ने भएकाे छ । कंपनीले निकट भविष्यमा सर्वसाधारणको लागि उक्त शेयर जारी गर्ने भएकाे हाे । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावित जनताका लागि थियाे । जुन सेयर खरिद गर्न प्रभावित क्षेत्रका बासिन्दाले उत्साहप्रद सहभागिता देखाएकाे कंपनीले जनाएकाे छ ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो । सो सेयर खरिदका लागि देश बाहिर रहेका सेयर खरिदकर्ताले देखाउनु भएको उत्साहले थप हौसला बढेको कंपनीकाे भनाइ छ ।

घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेकाे थियाे । शेयर खरिद कार्यमा देखाएको उत्साहपूर्ण सहभागिता प्रति घोराही सिमेन्ट परिवारले आभार प्रकट गरेकाे छ ।

नेपालको औद्योगीकरण र व्यापार प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्धित यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो ।

यस उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेकोमा हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याएको बताइएकाे छ।

यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणको लागि जारी गर्ने शेयर खरिद कार्यमा आम लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता हुनेछ भन्ने कंपनीकाे विश्वास छ ।