
चौतारा, १५ असार । गाउँमा सडक आएपछि धेरै सहज हुने सम्झेर सिन्धुपाल्चोकको बाह्रबिसे–ओखरेनी सडकको नयाँ ट्रयाक खुलाउने क्रममा स्थानीय मनिषा सुनारले आफ्नो भएको चार रोपनी जग्गामध्ये दुई रोपनी सडकलाई दिइन। विसं २०६२ मा बनेको सडकको मापदण्डअनुसार लगतकट्टा नहुँदा उनले अहिलेसम्म पनि मालपोत कर तिरिरहेकी छन् ।
ऐन, कानुनले सडकलाई सरकारी सम्पत्ति मान्ने गरे पनि सुनार भने झन्डै १८ वर्षदेखि सडकको पनि कर तिर्न बाध्य भएकी छन् । “गाउँको भलो सम्झिएँ, विकास हुने ठानेँ”, उनले भनिन्, “तर अहिले आएर हुँदै नभएको जग्गाको पनि कर तिरिरहेको रहेछु भन्ने बल्ल थाहा भयो ।” उनले १८ वर्षदेखि तिरिरहेको कर अब भने मिनाहा हुनुपर्ने बताइन। “हामीलाई आफ्नो जग्गामा परेको सडक सरकारको हुन्छ भन्ने थाहा नै थिएन”, मनिषाले भनिन्, “सरकारी जग्गाको कर हामी व्यक्तिले किन तिर्नु ?”
मनिषाजस्तै बाह्रबिसे नगरपालिका–९ का नेत्रबहादुर थापाले पनि सडकलाई दिएको पाँच रोपनी जग्गाको कर आफैँले तिरिरहेका छन् । बाह्रबिसे–चुल्ठे सडकखण्डअन्तर्गत उनको जग्गा परेपछि थापाले सडकका लागि भनेर जग्गा दिएका थिए। “हामीले आफ्नो नभएको जग्गाको पनि कर तिर्न बाध्य भएका छौँ”, थापाले दुःखेसो पोखे “जग्गा त गुमायौँ, तर सरकारी सम्पत्तिको पनि कर तिर्नुपर्दा आर्थिक भार बढेको छ ।”
नेत्रबहादुर र मनिषाले मात्रै होइन, जिल्लामा पछिल्लो दशकदेखि बढेका ग्रामीण सडकको कर व्यक्तिले नै तिर्दै आइरहेका छन् । स्थानीय तह आइसकेपछि यो क्रम धेरै गुणाले बढेको छ । स्थानीय तहले विकास भन्दै सडकलाई पहिलो प्राथमिकतामा राखेपछि व्यक्तिले सडकको कर तिर्नेको सङ्ख्या आकाशिएको हो ।
व्यक्तिको जग्गा हुँदै गाउँ–गाउँ पुग्ने सडक स्थानीय तहले निर्माण गरे पनि लगतकट्टा नगर्दा नागरिकले समस्या झेल्नुपरेको बाह्रबिसे बजारका समाजसेवी उद्धवप्रसाद तिवारीले बताए । “नगर र गाउँपालिकाले लगतसम्बन्धी कार्यविधि, मालपोत कर मिनाहा प्रक्रिया अगाडि नबढाउँदा सडकमा परिणत भइसकेका जग्गाको मालपोत कर तिर्न नागरिक बाध्य छन्”, सामाजिक अभियन्तासमेत रहेका तिवारीले भने ।
“करको लगत सङ्कलन गर्न र लगतकट्टा गर्ने कार्यविधि बनाउनका लागि स्थानीय तहमा दबाब दिए पनि सुनुवाइ भएको छैन ।” बाह्रबिसे क्षेत्रभर प्रतिवडा ४ देखि ११ वटासम्मको १८ किलोमिटरको ग्रामीण सडकमा गुमाएको जग्गा कर मिनाहा गर्न नगरपालिकामा ज्ञापनपत्र बुझाएको उनेले बताए । अहिले सिन्धुपालचोकमा सार्वजनिक सम्पत्तिको मालपोत कर व्यक्तिले तिर्नु परेकाले नागरिक मारमा परेको भन्दै सामाजिक संस्था सामुदायिक सारथीले यसको रोकथामका लागि पहल गरिरहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




