राजकुमारको कृषि कथाः काम गर, सफलता पछि-पछि आउँछ

-



     देवराज सुवेदी    
     असार २४ गते २०८० मा प्रकाशित



सिन्धुपाल्चोक, २४ असार । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित भएए।

विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनकाे गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् । लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताएका हुन्। “आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?”, उनले भने। देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन ।

उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे। र, उनी मलेसिया हुइँकिए। उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउछन्। “मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु”, उनले भने। मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए।

स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन । र, फेरि उनी कतार गए। कतारमा उनले विमानस्थलमै काम पाए। तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै फेरि स्वदेश नै फर्किए। घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए। दुबईमा पेट्रोलपम्पमा काम पाए। तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा रु पाँच लाख लिएर फर्किएको बताए।

रु ७५ लाखको लगानी

गाईभैँसीपालनका लागि उनकाे विदेशबाट कमाएर ल्याएको र ऋण गरेर रु ७५ लाखको लगानी रहेको छ। दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट रु ६० लाख ऋण लिएको बताए। “मैले लक्ष्मी बैंकबाट मात्रै रु ६० लाख ऋण लिएको छु । रु ३५ लाखको वस्तुमात्रै छन्”, उनले भने। सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनले सुनाए। “सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो”, उनले भने। अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उनहाँको हिम्मतले आज सफलता र खुसी बनाएको छ ।