नेप्सेमा १.३१ अंकको गिरावट, साढे ३ अर्बको कारोबार

-



     सफल आवाज    
     श्रावण ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ साउन । सेयर बजारको उकालोको यात्रामा आज ब्रेक लागेको छ । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको छ । नेप्सेमा ०.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.०५ अंकले बढेर ४१०.५२ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी ८ वटामा रातो लागेको छ । यसदिन २६४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८४ लाख २४ हजार १०८ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ५२ करोड ४ लाख १० हजार ६५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको १४ करोड २३ लाख १७ हजार ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बिशाल बजार कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड २ को सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।