अप्पर लोहोरे खोला हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ साउन । अप्पर लोहोरे खोला हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले असार ७ गतेदेखि स्थानिय जनताका लागि सेयर निष्काशन गरेकाे थियाे ।

कम्पनीका अनुसार जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँकाे १० प्रतिशतले ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि बिक्रीमा ल्याइएकाे हाे ।

यसमा २ लाख ५४ हजार ९०२ कित्ता आयोजनाबाट अति प्रभावित मानिएकाे नौमुले गाँपालिका वडा नं ३ का जनताका लागि रहेकाे छ । बाँकी ५० प्रतिशत दैलेख जिल्लाबासीका लागि रहेकाे छ। इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा २५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसको अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति ३१ वर्ष बाँकी छ।

लगानीकर्ताले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।