उछाल आएको भाेलिपल्ट नेप्सेमा करेक्सन, ४ अर्ब ७३ करोडको कारोबार

- नेपाल पुनर्बीमा कम्पनी कारोबारमा अब्बल

-



     सफल आवाज    
     श्रावण ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ साउन । कारोबार सन्तोषजनक भएको भएपनि सोमबार नेपाली सेयर बजारमा करेक्सन भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएकै दिन आईतबार उछाल आएको नेप्सेमा त्यसको भोलिपल्टै आज करेक्सन असामान्य नभएको सेयर बजारका जानकारहरु बताउँछन् । सेयर बजारमा दिनहुँ आरोह अवरोहका घटनाक्रमहरु भईरहने भएपनि नीतिगत सुधारको खाँचो भने आवश्यक हुने उनीहरुको तर्क छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा झरेको छ । नेप्सेमा १.१९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.१४ अंकले घटेर ४१८.७८ विन्दुमा रहेको छ ।

१३ उपसमूहरुमध्ये ११ वटामा रातो लागेको छ । बाँकी द्ईवटामा मात्रै हरियो लागेको छ । कुल २६५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ ४४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २५ करोड ५६ लाख ६९ हजार ८४१ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै एनआईबिएल ग्रोथ फण्डको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.९३ प्रतिशतले घटेको छ ।