
काठमाडौं, ११ साउन । अप्पर लोहोरे खोला हाइड्रोपावरकाे सेयर (आईपीओ) साउन १८ गतेदेखि जारी हुने भएकाे छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर बाँडफाँड गरेपछि सर्वसाधारण लागि खुलाइने भएकाे हो।
जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले १९ लाख ८८ हजार २३६ कित्ता साधारणका लागि छुट्याइएको थियो। १ लाख ९८ हजार ८२४ कित्ता वैदेशिक रोजगारमा गएकाहरुका लागि बाँडफाँड भइसकेको छ । ३९ हजार ७६५ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
आयोजना प्रभाविन क्षेत्रका जनताका लागि जारी गरिएकाे सेयरमा बिक्री हुन बाँकी रहेकाे १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि ल्याउन लागेको कम्पनीले जनाएकाे छ।
लगानीकर्ताले घटीमा १० तथा बढीमा २५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा साउन ३२ गतेसम्म आवेदन दिन पाइनेछ।
कम्पनीले ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति ३१ वर्ष बाँकी छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।