नेप्सेमा पुनः करेक्सन, करिब २ अर्बको कारोबार

-



     सफल आवाज    
     श्रावण १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ साउन । लागातार ओरालो लाग्दै आएको सेयर बजारमा आठौं दिनमा सोमबार झिनो अंकको सुधार आएपनि त्यसको भोलिपल्ट मंगलबार पुनः करेक्सन देखिएको छ । एउटा उपसमूह बाहेक बाँकी १२ वटा राताम्मै भएका छन् । कारोबार रकमले पनि दुई अर्बको घेरोलाई नाघ्न सकेन ।

अर्थ बजारले सन्तुलन कायम राख्न नसक्नु, लगानीकर्ताहरु नियमन निकाय तथा सरोकारवालाहरुसंग कायम रहेका समस्याबाट मुक्त नहुनुको असर सेयर बजारमा देखिईरहेको छ । लगानीकर्ताहरु अझैं पर्ख र हेरको स्थितिमा रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा झरेको छ । नेप्सेमा १.३५ प्रतिशतले गिरावट भएको छ । उता सेन्सेटिभ इण्डेक्स ५.१३ अंकले घटेर ३९६.७२ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरु मध्ये एकमा हिरयो लागेको छ । बाँकी १२ वटै उपसमूहहरु राताम्मै भएका छन् ।

२६२ कम्पनीहरुको ६० लाख १५ हजार ६७ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट पैसा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ ९० पैसा बराबरको करोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ७४ लाख ३ हजार ८८५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ४.६० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाले गुमाएको छ । संस्थाको सेयरमूल्य ६.५४ प्रतिशतले घटेको छ ।