सोमबार सेयर बजार राताम्मै, करिब डेढ अर्बको कारोबार

-



     सफल आवाज    
     भाद्र ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ भदौ । सेयर बजारको ओरालाको यात्रा जारी रहेको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सेयर बजार ओरालोको यात्रामा गएको हो ।

अन्य दिनहरुको तुलनामा कारोबार रकम पनि घटेको छ । आज सबै सूचकहरुको दृश्य राताम्मै हुँदा लगानीकर्तालाई खल्लो महशुस गराएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ विन्दुमा झरेको छ । नेप्सेमा ०.६४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५० अंकले घटेर ३८२.६२ विन्दुमा पुगेको छ ।

यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कुल २७२ कम्पनीहरुको ४१ लाख ६३ हजार ८७२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँ ६८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ८ करोड २४ लाख ७ हजार २३४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ७.९९ प्रतिशतले घटेको छ ।