हेटौंडा वितरण केन्द्रकाे २ अर्ब ३७ करोड विद्युत् बक्यौता उठ्न बाँकी, शिवम् सिमेन्टले २ अर्ब महसुल तिरेन

-



     सफल आवाज    
     भाद्र ६ गते २०८० मा प्रकाशित



बागमती, ६ भदौ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले २ अर्ब ३७ करोड ८२ लाख ९८ हजार ३ सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।

विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित ९ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहानले जानकारी दिए। उनका अनुसार सिमेन्ट उद्योगले ८ वर्षदेखि बक्यौता तिरेको छैन । इञ्जिनियर चौहानले उद्योगले हालसम्मको २ अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए।

“उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो”, उनले भने, “त्यसबेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ ।” उद्योगसहित विद्युत् बक्यौता नतिर्ने ९ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए।

महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो । “कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ”, इञ्जिनियर चौहननले भने, “पाँच जनाबाट रू एक लाख २२ हजार पाँच सय ९२ सङ्कलन गरिएको छ ।” उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ ।

प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उनले जनाए। विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो । विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले रू एक लाख ६६ हजार ९१ जरिवाना लिएको उनले जानकारी दिए।