नेप्सेमा ३१.५२ अंकको गिरावट, डेढ अर्बको कारोबार

-



     सफल आवाज    
     भाद्र ७ गते २०८० मा प्रकाशित


काठमाडौं, ७ भदौ । अघिल्लो दिन हरियाली छाएको नेप्सेमा दोश्रो दिनमै करेक्सन देखिएको छ। बुधबार सेयरबजार बन्द हुँदाको समयमा नेप्सेमा २६.९९ अंकको बृद्धि भई २०४२.९८ विन्दुमा उक्लिएको थियो ।

सेयर बजारका जानकारहरुले यस प्रकारको करेक्सनलाई सामान्य मान्ने गरेका छन् । तर बिगत दुई वर्षदेखि सेयर बजारमा भईरहेको अधिकांश दिनहरुको नकारात्मक लयले लगानीकर्ताहरुका मनोबल पक्कै पनि बढाउन सकेको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा झरेको छ । नेप्सेमा १.५४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.७२ अंकले घटेर ३८५.५६ विन्दुमा रहेको छ ।

१३ वटै उपसमूहहरुमा रातो लागेको छ । कुल २७५ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४६ लाख ५७ हजार १३७ कित्ता सेयरको कारोबारबाट १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको कारोबार भएको छ । सो होटलको ७ करोड ८७ लाख ९५ हजार ६३४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ८.५४ प्रतिशतले घटेको हो ।