१३ करोडको आईपीओ ल्याउदै श्रीनगर एग्रिटेक

-



     सफल आवाज    
     भाद्र १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ भदाै। श्रीनगर एग्रिटेक इण्डष्ट्रिजले १३ करोडको आईपीओ ल्याउने भएको छ। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सम्झौता समेत गरेको  छ।

सम्झौतापत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर भएकाे छ ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको संचालक समितिको निर्णयानुसार कम्पनीले जारी पूँजीको १३ प्रतिशतले हुन आउने रु. १०० दरको १३,००,००,००० (अक्षरुपी तेह्र करोड) रकम बराबरको १३,००,००० (तेह्र लाख कित्ता) साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेकाे हाे ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले कृषि अन्तर्गतको व्यवसाय इं.सं.२००२ मा श्रीनगर एग्रो फार्मको स्थापना बाट सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्दै इ.स. २०१७ देखि श्रीनगर एग्रीटेक इण्डष्ट्रिजबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ ।

कम्पनीले व्यापार विस्तारको क्रममा वुटवल, रुपन्देहीमा वद्यशालाको स्थापना गर्ने योजना गरेको छ । भविष्यमा प्रशोधित मासु उपभोत्ता माझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने कम्पनीकाे योजना रहेको छ ।

कम्पनीले, श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्दि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।

उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको शेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएका छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।