नेप्सेको ओरालोको यात्रामा ब्रेक, १९६७.८३ विन्दुमा उक्लियो

-



     सफल आवाज    
     भाद्र १८ गते २०८० मा प्रकाशित


काठमाडौं, १८ भदौ । लगातार ओरालो लागिरहेको नेप्सेको यात्रामा आज भने ब्रेक लागेको छ । साताको सेयर कारोबार हुने आज मंगलबार तेश्रो दिन नेप्से उकालाे लागेकाे हो ।

यसदिन सेयर बजारको उकालो लागेको दृश्यले लगानीकर्ताको मनोवल बढाएको छ । कुल कारोबारको फिगरमा भने अझैं उल्लेखनीय सुधार हुन सकेको देखिएन । तर सकारात्मक बनेकाे माहाेलले उत्साही बनाएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने १.०९ अंकले बढेर ३७७.७१ विन्दुमा पुगेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये फाईनान्स उपसमूह बाहेक सबैमा हरियो लागेको छ । कुल २७० वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३४ लाख ३२ हजार २६७ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ९९ करोड १ लाख ३९ हजार ६९७ रुपैयाँ १६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ५ करोड २८ लाख ८४ हजार ३२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लिवर्टी इनर्जि कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेको हो ।