
पोखरा, १९ भदौ । पाेखराकाे कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आ.व.२०७९/८० मा ८ करोड १४ लाख नाफा गरेको छ । यस वर्ष सहकारीले १६.३८ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको हाे ।
सहकारीले यस आ.व.२०७९/८० मा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबारको आधारमा ऋणी सदस्यहरुलाई ३.७४ प्रतिशत र बचतकर्ता सदस्यहरुलाई ३.२८% को दरले बोनस वितरण गरिने संस्थाका महाप्रवन्धक सुजता हमालले जानकारी दिइन ।
सहकारीले यो अवधिमा ४ हजार १ सय ४४ जना सदस्य पुर्याएको छ । यस आ.व.२०७९/८० मा संस्थाको शेयर पूँजी १८ करोड ६९ लाख ४६ हजार तीन सय, कुल बचत १ अर्ब ५३ करोड ४२ लाख तेतिस हजार एक सय र ऋण लगानी १ अर्ब ३५ करोड ५६ लाख तीस हजुार पाँच सय ४४ भएको हमालले भनिन् ।
संस्थामा साधारण जगेडा कोष १७ करोड ६ लाख र अन्य कोषहरुको रकम ६ करोड १८ लाख, तरलता वित्तीय लगानी सहित ३६.९२% र कुल सम्पत्ति २ अर्ब ६ करोड ५५ लाख ७९ हजार ६ सय ८१ रहेका महाप्रवन्धक हमालले वताइन् ।
सहकारीले अनलाइन मार्फत मोबाइल बैकिङ सेवा, खानेपानी र विजुलीको महशुल तिर्ने व्यवस्था र एसएमएस सेवा दिंदै सदस्यलाई सहजीकरण गर्दै आएको महाप्रवन्धक हमालले जानकारी दिइन् । यस संस्थाको यूनाइटेड रेफरेन्स ल्याबरेटरी प्रा.लि.संग भएको सम्झौता अनुसार यस संस्थाको सदस्यहरुले संस्थाको परिचयपत्रको आधारमा सबै प्रकारका परीक्षण सेवामा ३५% छुटको व्यवस्था गरिएको छ ।
सहकारीले आफ्ना सदस्यहरुलाई समय समयमा शिक्षा कार्यक्रम गरी सकारीको वारे जनचेता दिंदै आएको छ । आर्थिक कारोवार सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत टोलमा सरसफाई कार्यक्रम र हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको संस्थाका अधिकृत हेमा गुरुङले वताइन ।
शेयर सदस्यहरुलाई आइपरेका दुःखका दिनमा समवेदना र चाड पर्वमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको अधिकृत गुरुङले भनिन् । कोन गरिब तथा जेहेन्दार छात्रवृति कार्यक्रम अन्तर्गत भद्रकाली बहुमुखी क्याम्पसमा स्नात्तक तह अध्ययनरत जेहेन्दार विद्यार्थी मेनका मल र जस्मिना घलेलाई हालै छात्रवृति प्रदान गरेको छ ।