
नारायणगढ (चितवन), २२ भदौ । जिल्लामा पहिलोपटक तीज विशेष उद्यमशीलता मेला सुरु भएको छ । मेलाको उद्घाटन समारोहमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले महिलाले सञ्चालन गरेको उद्योग तथा व्यवसायलाई राज्यले थप सहयोग तथा प्रोत्साहन गर्नुपर्ने बताए।
केही मात्रामा सहयोग गरेको भए पनि अझ विस्तृतरूपमा सबै पक्षलाई समेटेर प्रोत्साहन गर्नुपर्ने धारणा राखे। महिला उद्यमीतर्फ इङ्गित गर्दै उनले भने, “तपाईंहरूले आफ्नै माटोमा पसिना बगाउनु भएको छ । देशका लागि केही गर्न सकुँ भनेर दिनरात खट्नुभएको छ । तपाईंहरू सबैजना धन्यवादको पात्र हुनुहुन्छ ।” उनले महिलाले गरेको व्यवसायको संरक्षण गर्न जरुरी रहेको भन्दै यस्ता खालका मेलाले व्यवसायमा थप टेवा पुग्ने बताए।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले तीज विशेष मेलाले चाडबाडलाई उद्यमशीलतासँग जोडेको बताए। उनले महिलाले उत्पादन गरेका सामानको प्रवर्द्धन लागि आफूहरूको सहयोग रहने भन्दै महिला उद्यमीका उत्पादित सामानको डिजिटल प्रवर्द्धन महासङ्घले गरिदिने आश्वासन दिए ।
कार्यक्रमका नेपाल उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडीले धर्म र संस्कृतिको जगेर्ना गर्दै उद्यम गर्ने महिलाले आयोजना गरेको यस प्रकारको मेलाले चाडबाड मनाउने तरिका परिवर्तन भएको बताए। यस्ता मेलाको आयोजनाले समाजमा राम्रो सन्देश जाने उनको भनाइ थियो । उद्यमशीलताको प्रदर्शनसँगै चाडबाड मनाउने यस प्रकारको तरिका उद्यमी महिलाका लागि अवसर भएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले उद्यमी महिलाहरूले आयोजना गरेको यस खालको मेलाले तीज मनाउने भड्किलो तरिका हट्ने आशा व्यक्त गरे। काम र चाडबाडसँगै हुनेहुँदा धर्म संस्कृतिको रक्षा र उद्यमशीलताको प्रवर्द्धन पनि सँगै हुने उनको भनाइ थियो । स्वदेशी उत्पादनको प्रयोग गर्दा अनावश्यक खर्च समेत कम हुने भन्दै सबैलाई सभ्य तरिकाले चाडबाड बनाउन उनले आग्रह गरे।
चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा लागेको मेलामाा स्वदेशमा उत्पादन भएका र तीज पर्वसँग सम्बन्धित सामग्रीहरूको स्टल राखिएका छन् । मेलामा हस्तकलाका सामग्री, तीज विशेष सामग्री, स्वदेशी लत्ता कपडा, बुटिकका सामग्री, सजावटका गरगहना र खाद्यान्नका परिकारलगायतका स्टल रहेका छन् । तीन दिन चल्ने मेलामा १० हजार दर्शकले अवलोकन गर्ने र रु ५० लाखको कारोबार हुने आयोजकको अनुमान छ ।
चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग सङ्घ युवा उद्योमी मञ्च र महिला सृजनशील केन्द्रको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो । महिला उद्यमीहरूको उत्पादनलाई प्रवर्द्धन गर्न र बजारमा पहुँच पु¥याउँदै पर्वलाई उद्यमसँग जोड्नका लागि मेला आयोजना गरिएको आयोजकको भनाइ छ ।