राष्ट्र बैङ्ककाे रू १० अर्बको विकास ऋणपत्रमा आज बोलकबोल

-



     सफल आवाज    
     भाद्र २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैङ्कले १० अर्बको विकास ऋणपत्र निष्कासन गर्दैछ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो ।

यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् ।

विकास ऋणपत्र २०८६ ‘झ’को बोलकबोलका लागि आज २४ गते अपराह्न ३ बजेसम्मको अवधि तोकिएको छ । भदौ २५ गते सोमबार निष्कासन हुनेछ । यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुनेछ ।

ब्याजको भुक्तानी अर्धवार्षिकरूपमा हुने र आर्जित ब्याजमा कर लाग्ने राष्ट्र बैङ्कले जनाएको छ । यो विकास ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी हुन सकिनेछ ।

प्रतिस्पर्धी बोलबालालाई कुल निष्कासित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड अप्रतिस्पर्धी बोलबालालाई १५ प्रतिशत अर्थात रू एक अर्ब ५० करोड बराबरको ऋणपत्र छुट्याइएको छ । घटीमा रू ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाईकन रू ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ ।

यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्कट एक्सचेञ्ज लिमिटेडमार्फत हुने राष्ट्र बैङ्कले जनाएको छ ।