
काठमाडौं, ३ असाेज । नेपाल धिताेपत्र बाेर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि सिटिजन्स बैंकलाई स्वीकृति दिएकाे छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ मूल्यमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न बाेर्डबाट अनुमति पाएको हो ।
यस ऋणपत्र यसकाे अवधि १० वर्षका लागि रहेकाे छ । बैंकले ‘१० प्रतिशत सिटिजन्स बैंक बोन्ड’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
कुल इकाईबाट १२ लाख इकाई सर्वसाधारणका लागि खुलाइने भएकाे छ । बाँकी रहने १८ लाख इकाई बैंक आफैले विभिन्न संघ संस्थाहरूलाई बिक्री गर्ने भएकाे छ ।
ऋणपत्रकाे वार्षिक १० प्रतिशत ब्याज पाइने भएकाे छ । यसकाे बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहने भएकाे छ ।
ऋणपत्र भनेको के हो ?
कुल ऋण पूँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–सानाे इकाइमा छुट्रयाइएकाे इकाइलाई ऋणपत्र भनिन्छ । कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानीका सर्तहरू राखेर आधिकारिक रूपमा गरिदिएको लिखित पत्रलाई ऋणपत्र भन्ने गरिएकाे हाे ।
यसकाे तोकिएको दर तथा अवधिमा सावाँ र ब्याज भुक्तानी गर्ने सर्त हुन्छ । अंकित मूल्य हुने भएकाेले लगानीकर्ताले सर्तअनुसार उलेलेखित दरमा ब्याज प्राप्त गर्दछन् ।
लगानीकर्ता र कम्पनीका मालिकबीच साहु र ऋणीको जस्ताे सम्बन्ध हुने र कम्पनीले सर्तअनुसारकाे ब्याज भुक्तानी गर्न नसकेकाे खण्डमा लगानीकर्ताले कम्पनीलाई खारेजीमा पठाउनेसम्मको कारबाहीमा जान सक्छन् । तर उनीहरूकाे साधारणसभामा मताधिकार नहुने भएकाले व्यवस्थापकीय प्रभाव पर्दैन ।