कृषि बजार व्यवस्थापकले गरे मुना बजारको अध्ययन-अवलोकन

-



     सफल आवाज    
     असाेज ८ गते २०८० मा प्रकाशित



पोखरा, ८ असोज । देशका सातै प्रदेशका कृषि बजारका व्यवस्थापक तथा प्रतिनिधिहरुले पोखरामा रहेका कृषि बजारहरुको अध्ययन तथा अवलोकन भ्रमण गरेका छन् । उनीहरुले सोमबार पोखरा सिर्जनाचोकमा रहेको मुना बजारको अध्ययन अवलोकन गरेको मुख्य व्यवस्थापक सीता पाण्डेले जानकारी दिईन ।

उनका अनुसार मुना बजारमा पाएसम्म सबै प्रदेशका कृषि उपजहरुलाई प्याकेजिङ, ग्रेडिङ र लेवलिङ गरेर बिक्रीका लागि राखिएको छ । सहभागिहरुले आफ्नो क्षेत्रको उत्पादन मुना बजारमा देख्दा खुसि लागेको बताए । उनीहरुले पाेखराबाट फर्किएर व्यवस्थापकीय काममा पनि ध्यान दिने बताए ।

अवलोकनको अवसरमा पाण्डेले त्यहाँ रहेको कोल्डस्टोर, बिक्री कक्षमा रहेका कृषि उपजहरु र तिनको व्यवस्थापनका बारेमा जानकारी गराईन । उनले प्रोसेसिङको प्रक्रिया र मेसिनबारे जानकारी दिदैं कागुनोको भुष र गेडा छुट्याउने मेसिनको केहिबेर प्रयोगात्मक प्रदर्शन गराईन् ।

मुना बजारसंगै सहभाागिहरुले यहाँका व्यावसायीक कृषि फर्म, कृषि थोक बजार कास्की, द बजार, कृषक बजारहरुको अध्ययन अवलोकन भ्रमण गरेका छन् ।

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्धन् केन्द्र, हरिहर भवन, ललितपुरले संघ अन्तर्गत रहेका कृषि उपज बजार व्यवस्थापकहरुको लागि कृषि बजार व्यवस्थापन तालिम संचालन गरेको हो ।

केन्द्रले पोखरामा आयोजना गरेको तालिममा सातै प्रदेशका जिल्लाहरुमा रहेका कृषि उपज बजारका व्यवस्थापक तथा प्रतिनिध सहभागि भएका छन् ।

असोज ६ गतेबाट शुरु भएको तालिममा विभिन्न विषयगत विज्ञहरुले तालिममा सहजिकरण गररिहेका छन् । पहिलो दिन कृषि इन्जिनियर सन्जिव विमलीले संघीय कृषि बजारमा कोल्ड रुम तथा कोल्डस्टोर व्यवस्थापन तथा विभिन्न बालीका लागि तापक्रम र चिस्यानका बारेमा सहजिकरण गरे ।

यस्तै लेखापाल सुमन पन्तले कृषि उपज बजार व्यवस्थापन समितिको लेखा व्यवस्थापनका बारेमा, कृषि प्रसार अधिकृत समिक्षा बडालले कृषक मूल्य, कृषि उपज मूल्य, श्रोतसम्बन्धी तथ्यांक संकलन, फर्मेटमा प्रविष्टि तथा प्रतिवेदन तयारीका बारेमा र केन्द्रका निमित्त प्रमुख टीकाराम शर्माले उत्पादन उप्रान्त गरिने क्रियाकलाप, ध्यान दिनुपर्ने आधारभूत विषयहरुका बारेमा सहजिकरण गरेका थिए ।

दोश्रो दिन सेटलाईट बजार, लाभ लागत, न्यूनतम समर्थन मूल्य र कृषि बजारसंग यसको अन्तरसम्बन्धका बारेमा बरिष्ठ कृषि अर्थ विज्ञ डा.मणिरत्न अर्याल, कृषि उपजहरुको सरसफाई, ग्रेडिङ, प्याकेजिङ तथा लेवलिङको आवश्यक्ता र महत्वको बारेमा टीकाराम शर्मा, बजार सूचनाको जानकारी, महत्व र यसको व्यवस्थापन, कृषकका लागि उपयोगिताका बारेमा डा. अर्यालले सहजिकरण गरेका थिए ।

मंगलबारको तालिममा मुना बजारमा मुख्य व्यवस्थापक सीता पाण्डेले कृषि उपज बजार व्यवस्थापनमा हुनुपर्ने गुणहरु र बजार बिस्तार एवं व्यवस्थापनको भूमिकाका बारेमा सहजिकरण गर्ने केन्द्रले जनाएको छ ।

यस्तै डा.मणिरत्न अर्यालले नीजि कृषि बजार र संघीय कृषि बजार व्यवस्थापनमा फरक र सिक्नुपर्ने विषयहरुका बारेमा र उषा पौडेलले अनलाईन तथा कृषक बजार व्यवस्थापन र संघीय बजारका लागि सिकाईका बारेमा सहजिकरण गर्ने कार्य तालिका रहेको केन्द्रले जनाएको छ ।