गत आवमा नेपालमा २ खर्ब ६४ अर्ब ३३ करोड वैदेशिक लगानी भित्रिएकाे राष्ट्र बैंककाे तथ्याङ्क

-



     सफल आवाज    
     असाेज १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ असाेज । नेपाल राष्ट्र बैंककाे तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (२०७९ असार) सम्म नेपालमा २ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेकाे प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनले २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा उक्त रकम भित्रिएको देखाएको हो ।

कुल प्रत्यक्ष वैदेशिक लगानीमा चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी रहेका ६९४ कम्पनीमध्ये २३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वोक्षण गरिएकाे प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको उल्लेख छ । औद्योगिक क्षेत्र अन्तरगत जलविद्युत्, क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ ।

यस्तै कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तरगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा रहेको छ । यसअवधिमा भारतबाट सबैभन्दा धेरै ८८ अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी आएको छ ।

त्यस्तै दोस्रोमा चीनबाट ३३ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ । आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब १० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ ।