सेयर बजार राताम्मै, १ अर्ब १९ करोडको कारोबार

-



     सफल आवाज    
     असाेज १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ असोज । चाडबाड नजिकिएको बेलामा सेयर बजारलाई चलायमान बनाउने लगानीकर्ताहरु सुस्ताउन थालेका छन् । सुरक्षित रकम घर खर्च तथा व्यवहारिक प्रयोजनका लागि केहि समय साँच्ने हुनाले पनि यसको असर देखिने गरेको छ ।

तर सेयर बजारमा लागिरहेका विभिन्न खालका अंकुशहरुको कारण यसले स्थिर खालको लय लिन सकेको छैन । कहि न कहि कमजोरीहरु रहिरहेका छन् । यसका लागि नियमनकारी निकाय जिम्मेवार हुनैपर्छ भन्ने माग अहिले पनि लगानीकर्ताहरुको कायमै रहेको छ ।

साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ । सेयर बजार नकारात्मक लयमा गएपछि लगानीकर्ताहरुको मनोबल घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ विन्दुमा झरेको छ । नेप्सेमा ०.८८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले घटेर ३७४.३९ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहरु राताम्मै भएका छन् । कुल २८१ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३९ लाख ४५ हजार ९९१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १९ करोड २७ लाख ३० हजार ४८९ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५ करोड ५९ लाख ३० हजार ५१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै घलेम्दि हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ५.७१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ७.५४ प्रतिशतले घटेको छ ।