
पोखरा, १६ असोज । कास्की पोखरा हस्तकला संघको आयोजना तथा स्वस्तिक हस्तकला उद्योग पोखरा १ बगरको आयोजनामा भएको तीन दिने जुकि मेसिन चलाउने तालिम मंगलबार सकिएको छ ।
स्वस्तिक हस्तकला उद्योग बगरमा भएको तालिमको समापनका प्रमुख अतिथि पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले तालिममा सिकेका सिपलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे ।
नेपालमै सरकारको तर्फबाट व्यवसाय प्रवर्धन केन्द्रको पहिलो शुरुआत पोखराबाट भएको कुरा सुझाउदै अधिकारीले प्रवर्धन केन्द्रले लक्षित गरेका सिपहरु सिकेर लाभ लिन आग्रह गरे । उनले भने, तालिम कस्तो लिने हो, कस्तो उद्यमी बन्ने हो यसका बारेमा सरसल्लाह गर्न केन्द्रमा आउन अनुरोध गरे । उनले महानगरपालिकाले व्यवसाय प्रवर्धनका लागि सहुलियत कर्जा वा सकेको अनुदान के गर्न सक्छ त्यसमा सहजिकरण गर्ने बताए ।
अहिले ६ वटा विधामा तालिम खुलेकाले यथासिघ्र आफुलाई लागेको तालिम लिन चाहेमा सहभागि हुन आग्रह गरे । दिदिबहिनीहरु आर्थिक क्रियाकलापसंग जोडिनुपर्छ । यसका लागि उहाँहरुले चाहेको जस्तो तालिम महानगरले उपलव्ध गराउँछ । उनले भने, हस्तकलाका सामग्रीको लागि कच्चा पदार्थ समस्या रहिरहेको अवस्थामा स्थानिय श्रोत साधनलाई पनि उपयोगमा ल्याउन सके त्यसबाट फाईदा लिन सकिने बताए ।
महानगरमा भविष्यमा कोशेली घर बनाउने लक्ष्यमा रहिरहेको र त्यसमा हस्तकलाका सामग्रीहरुको बजारिकरणमा सहयोग पुग्ने बताए । तर उनले यहाँका उत्पादनमा गुणस्तरकासाथ आईपरेको खण्डमा गुणस्तरिय संख्यात्मक उत्पादनका लागि पनि सक्षम् हुनुपर्नेमा जोड दिए ।
कास्की पोखरा हस्तकला संघका उपाध्यक्ष तथा स्वस्तिक हस्तकला उद्योगका प्रमुख सीता गुरुङले दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउने अभिप्रायले प्रविधि संगसंगै छिटोछरितो काम गर्नका लागि जुकि मेसिन चलाउने तालिम आयोजना गरिएको बताईन्। तीनदिन सम्मको तालिमबाट दिदिबहिनीहरुले मेसिन चलाउन सिकेकाले आगामी दिनहरुको उत्पादनमा बृद्धि हुने विश्वास व्यक्त गरिन् ।
अब हामीलाई परम्परागत गर्दै आएको काममा प्रविधिको साथ चाहिएको छ । गुणस्तरिय उत्पादन र संख्यात्मक उत्पादनका लागि, छिटोछरितोका लागि मेसिनको प्रयोग अत्यावस्यक भएकोले मेसिनमा हात बसाउन तालिम फलदायी भएको बताईन्।
सो अवसरमा उनले सिप सिक्न चाहनेहरुलाई आफ्नो तर्फबाट सहयोग गर्दै आएको र सिप हस्तान्तरणका लागि सधैं तयार रहेको बताईन् । उनले अहिले गुडिया, कुसन लगायतका सामग्री बनाउन सिकेकाहरुको लागि एडभान्स तालिमको खाँचो रहेको उल्लेख गरिन् ।
प्रशिक्षार्थिको तर्फबाट रामदेवी बानियाले तीनदिने तालिमले मेसिनसंगै काम गर्न सजिलो भएको बताईन् । काम पनि छिटो हुने र उत्पादन पनि बढी हुने भएकोले तालिम फलदायी भएको महशुस भएको उनले बताइन्।
प्रशिक्षक अरवाज मीयाले मेसिनसंगै काम गर्नका लागि दिदिबहिनीहरु उत्सुक भएको र तीनदिनको तालिममा उहाँहरु हात बसाउन सक्ने भईसकेको बताए । उनले आगामी दिनहरुमा मेसिनसंगै काम गर्दा हुन सक्ने समस्याका बारेमा जानकारी गराए वा जान्न मन लागेको कुराहरु भए सिकाउन तयार रहेको बताए ।
महिला उद्यमी संघका दितिय उपाध्यक्ष मीना प्रधानले तालिममा सिकेका कुराहरुलाई प्रयोगमा ल्याउन दिदिबहिनीहरुलाई सल्लाह दिईन्। आय आर्जनको लागि पनि सिप चाहिने र सिप सिकेर व्यवहारमा उतार्न सकिएन भने काम लाग्दैन । त्यसैले सिपलाई नतिजामा उतार्ने भनेको काम नै हो अब उत्पादनमा जोड दिनुपर्छ ।
कार्यक्रममा सामुदायीक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, पोखरा वडा नं १ का सदस्य जुमकाजि गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
साे अवसरमा जुकि मेसिन चलाउने तालिममा सहभागि भएका १२ जना तथा स्वस्तिक हस्कला उद्योगमा सिप सिकाई गरेका १३ सहित २५ जनालाई प्रमुख अतिथि नवराज अधिकारीको साथमा संघकी अध्यक्ष रामकली खड्का, उपाध्यक्ष सीता गुरुङ लगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।


समापन समारोह संघका अध्यक्ष रामकली खड्को अध्यक्षतामा भएको थियो भने संचालन समावेशी सहकारीका सचिव जीवन अधिकारीले गरेकी थिईन् ।