आरविवि मर्चेन्ट बैकिङ्गकाे लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम

-



     सफल आवाज    
     असाेज २२ गते २०८० मा प्रकाशित



काठमाडाैं, २२ असाेज । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था (आईएससिओ)को आव्हानमा असोज १५ देखि असोज २१ गतेसम्म देशभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व लगानीकर्ता सप्ताह मनाएकोे छ ।

सोही अवसरमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले मिति २०८० आश्विन १९ गते शुक्रबार विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवनमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु तथा शिक्षक महानुभावहरु माझ लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, भरतपुरका शाखा प्रमुख सविन राज अधिकारी साथै अन्य कर्मचारी, विरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रा.दया राम पौडेल, वित्त संकाय प्रमुख डा.सुदिप वाग्ले तथा अध्ययनरत विद्यार्थीेहरुकोे उलेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य वक्ता आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडका प्रबन्धक अजय घिमिरे थिए । अन्तरक्रिया सत्रलाई लगानी व्यवस्थापनबाट रामनारायण तिवारीले संचालन गरेका थिए । छलफलमा उठेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए ।
“विश्व लगानीकर्ता सप्ताह २०२३” को अवसरमा आयोजित कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्नेछ भन्ने विश्वास गरिएको बताइएकाे छ ।