
काठमाडौं, २८ असोज । बडा दशैंको पहिलो दिन घटस्थापनाको दिनमै नेपाली सेयर बजारमा नकारात्मक असर देखिएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा गिरावट हुँदा लगानीकर्ताहरुलाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४ विन्दुमा झरेको छ । नेप्सेमा १.०६ अंकले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९५ अंकले घटेर ३५९.१३ विन्दुमा रहेको छ ।
यसदिन १३ वटा उपसमूहहरुमध्ये एउटा बाहेक सबैमा रातो लागेको छ । २९२ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७५ लाख ५८ हजार ५४२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयर १६ करोड ३८ लाख ४८ हजार ४ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै सिटि होटल लिमिटेडको सेयरमूल्य घटेको छ । सो होटलको सेयरमूल्य ९.०९ प्रतिशतले घटेको छ ।

