कोरला नाका चीनको प्राथमिकतामा, छिटै खोल्ने तयारी हुँदै

-



     सफल आवाज    
     कार्तिक २ गते २०८० मा प्रकाशित



पोखरा, २ कात्तिक । कोरला नाका खोल्न चीन स्वयं इच्छुक हुँदा नेपालले भने कुनै तयारी नगरेकोमा सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । हालै चीन, तिब्बतको लिन्झी सहर पुगेर आएको पोखराका मेयर धनराज आचार्य नेतृत्व टोलीले कोरला नाका खोल्ने कुरा चीनको प्राथमिकतामा रहेको जानकारी दियो ।

आचार्य नेतृत्वमा महानगरका २ जना वडाध्यक्ष दिवसमान प्रधानांग, राधिका शाही, महानगरपालिका सल्लाहकार परिषद अध्यक्ष आनन्दराज मुल्मी, नेपाल चीन जनमैत्री संघ अध्यक्ष विश्वशंकर पालिखे लगायतको टोली हालै लिन्झीमा आयोजित हिमालय सीमापार मञ्चको सम्मेलनमा भाग लिएर फर्केको हो । सोही भ्रमणबारे जानकारी दिने र कोरला नाका खोल्न सम्बन्धित निकायलाई झक्झक्याउनुपर्नेमा जोड दिँदै बिहीबार कार्यक्रम आयोजना गरिएको थियो ।

महानगरपालिकाको सहयोग र रेडियो अन्नपूर्णको सहकार्यमा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मेयर आचार्यले तिब्बतको सबैभन्दा सजिलो नाका नै कोरला भएको हुँदा चीन सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ भन्दा कोरलालाई नै प्राथमिकता दिइरहेको बताए । ‘नेपाल प्राथमिकतामा छ, कोरला नाका प्राथमिकतामा छ भन्ने हिमालय सीमापार मञ्चको सम्मेलनको सम्बोधनबाट बुझिन्थ्यो,’ मेयर आचार्यले भने, ‘चीनका परराष्ट्र मन्त्रीसम्मले पटकपटक पोखरा र नेपालको नाम लिनुबाट त्यो प्राथमिकता बुझिन्थ्यो ।’

कोरलामा चीनले ७ अर्ब लगानी गरेर पूर्वाधार निर्माण गरिसक्नुबाटै पनि यो नाका खोल्ने कुरा उसको प्राथमिकतामा रहेको बुझ्न सकिने पनि मेयरको भनाइ थियो । कोरलाको लिझी पोर्ट (बन्दरगाह)मा पूर्वाधार तयार भइसकेको र चीनले पोखरालाई पनि प्राथमिकतामा राखेको उनले सुनाए । मुल्मीले लिझी पोर्ट नै सबैभन्दा फराकिलो र समथर ठाउँमा रहेको तथा १२ महिना चलाउन सकिने जानकारी दिए । ‘समयका हिसाबले ल्हासाबाट पनि कोरला नै नजिक पर्छ,’ उनले भने, ‘कोरला नजिकको झोङ्बालाई उनीहरुले ठूलो सहरका रुपमा विकास गर्दैछन् ।’

तिब्बतको पश्चिमी भागमा धेरै उद्योग धन्दा पनि नभएको हुँदा चीनकै पूर्वीभागबाट सामान ल्याउनुभन्दा नेपालबाट लैजान सजिलो र सस्तो पर्ने चिनिया ठम्याइ रहेको मुल्मीको भनाइ थियो । उनले तिब्बतीहरुलाई पशुपालनमा चाहिने घाँससमेत नेपालमा लैजान सकिने भएको हुँदा नै हालै चीनमा घाँस निर्यात भएको उनले सुनाए । तिब्बतको पश्चिमी भेगमा बासिन्दाले माछा खाने तर त्यहाँ नहुने हुँदा नेपालबाट माछा निर्यात गर्न सकिने सम्भावना उनले औंल्याए । पालिखेले ल्हासा—पोखरा बस सञ्चालन गर्न सकिने सम्भावना सुनाए । त्यसका लागि चिनियाहरु तयार रहेको उनको भनाइ थियो ।

मानसरोवर जाने बस पनि चलाउन सकिने भन्दै उनले मानसरोवर जान कोरला जत्तिको उपयुक्ता द्वार अरु नभएको सुनाए । ‘मानसरोवर जाँदा पनि पोखरा भएर जानुपर्छ, आउँदा पनि पोखरा भएर फर्कनुपर्छ,’ उनले भने, ‘त्यसले पोखरामा पर्यटकको बसाइ लम्ब्याउँछ ।’ तर १० वर्षअघि आफूहरु कोरला नाका जाँदा वारि र पारि दुवैतिर खाली भएकोमा अहिले चीनपट्टि ७ अर्बको पूर्वाधार बनिसक्दा नेपालतिर अझै खाली हुनु दुखद भएको उनले बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले कोरला नाका खुला गर्दा गण्डकी प्रदेश र पोखराले फाइदा लिनसक्ने धारणा राखे । यस्ता अन्तक्र्रिया फेरिफेरि राख्ने उनको भनाइ थियो ।