
काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएकाे छ ।
केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे जानकारी दिएको हाे । राष्ट्र बैंकले दिएकाे जानकारी अनुसार २०८० साल मंसिर ४ गतेदेखि २०८१ साल मंसिर ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको छ ।
मुद्दति निक्षेपमा सहभागि हुन चाहने बैंक तथा वित्तीय संस्थाले कात्तिक १५ गते राती १२ बजेसम्म आफूले लिन चाहेको रकम र साे रकमका लागि प्रस्ताव गरिएको ब्याजदर पनि खुलाएर आवेदन दिनु पर्नेछ ।
‘क’ वर्गका वाणिज्य बैंकमा १४ करोड १४ लाख रुपैयाँ लगानी गर्न लागिएकाे छ । यस्तै ‘ख’ वर्गका विकास बैंकमा २ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि ८८ लाख रुपैयाँ लगानी गर्न लागेको जनाइएकाे छ ।
राष्ट्र बैंकले लगानीका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम हुनुपर्ने बताएकाे छ । साथै रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको लगायतका शर्तहरु लागू हुनेछन ।