हायरपर्चेज कर्जामा ब्याज बाहेक अन्य शुल्क लिन नपाइने

-



     सफल आवाज    
     मंसिर १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ मंसिर । राष्ट्र बैंकले हायरपर्चेज कर्जा दिने कम्पनीहरुलाई स्वीकृति दिने नीतिगत एबम् प्रक्रियागत व्यबस्था, २०७० तेश्रो संशोधन २०७८ लाई संशोधन गरी हायरपर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० चौथो संशोधन २०८० जारी गरेको छ।

बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले सूचना जारी गर्दै हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क लिन नपाउने जनाएका हुन् । बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) जारी गर्दै यस्तो व्यवस्था गरेको छ ।

बैंकले कर्जा प्रवाह हुँदा ऋण लिनेसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशतभन्दा बढी नहुने व्यवस्था हुनुपर्ने जनाइएकाे छ । साथै पेनाल ब्याजकाे गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकमकाे लागि वार्षिक पेनाल ब्याजदरले ढीलाे भएकाे समयावधिका लागि कायम हुने रकमभन्दा बढी लिन नपाइने उल्लेख छ । यस्तै पेनाल ब्याजमा पनि ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाइने व्यवस्था गरिएकाे छ।

राष्ट्र बैंकले कम्पनीले कर्जा प्रवाह गर्दाखेरि ऋणीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने जनाएकाे छ । तर २५ लाख वा सो भन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य नहुने जनाइएकाे छ।

हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) यहाँ छ