मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म ल्याउदै राष्ट्र बैंक

-



     सफल आवाज    
     मंसिर १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा यही हप्तामा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यही हप्ता सार्वजनिक गर्ने तयारी रहेकाे बताएका छन् । मिति नताेकिए पनि संभवत : शुक्रबारसम्म समीक्षा सार्वजनिक गर्ने तयारी गरिएकाे छ । अब बैंक सञ्चालक समितिले अन्तिम स्वीकृती दिएपछि सार्वजनिक गरिने भएकाे हाे ।

अर्थतन्त्र राम्ररी नसप्रेकाे अवस्थामा राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउँछ भन्ने विषय पर्खाइ र चासोकाे विषय बनेकाे छ । अहिले पनि बजारकाे गति सुस्त रहेकाे छ । व्यापार, व्यवसाय चाैपट भएकाे छ ।

बजार पूर्ण रूपमा खुलेकाे देखिन्न, कतिपय प्रतिष्ठान र सटरहरू भाडामा लेखिएका देखिन्छन् । कतिपयले व्यवसाय नै बन्द गरिसकेका छन् । याे बेलामा अर्थतन्त्रलाइ ट्रयाकमा ल्याउन राष्ट्र बैंकले कस्ताे खालकाे रणनीति बनाउँछ त्यसले बजरलाइ प्रभाव पार्नेछ ।

यहीबिचमा अर्थतन्त्रमा सुधार गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी नियमनकारी निकाय तथा नीजि क्षेत्रका अगुवाहरूसंग छलफल गरिसकेका छन् । त्यहाँ उठाइएका विषय र सुझावलाइ बैंकले समिक्षामा के गर्छ भनेर चासाे लिइएकाे छ ।

छलफलमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर साँवा ब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा सहजीकरण गर्ने भनिएकाे थियो । साथै, बैंककाे ब्याजदर घटाउन राष्ट्र बैंकसँग सहजीकरण गर्ने बताइएकोमा राष्ट्र बैंकले त्रैमासिक समीक्षामा घटाउन सक्ने अपेक्षाा गरिएकाे छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि लगानी गर्न गरेका छैनन् । कर्जा प्रवाहलाई बढाउन बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउने गरी समीक्षा आउन सक्ने आकलन गरिएकाे छ ।