३२ औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

-



     सफल आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित



पोखरा, १९ मंसिर । मंसिर २१ गतेदेखि पुस १ गते सम्म पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८० को तयारी पूरा भएको छ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँ बजारस्थ्ति प्रदर्शनी केन्द्रमा आयोजना हुने ३२ औं समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।

प्रदर्शनीमा डोमतर्फ ५४, अटोतर्फ ५० र अन्य विभिन्न खालका १ सय ४६ गरी २ सय २० स्टल रहने छन् । औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधिको पदर्शनी मेलाको मुख्य आकर्षणका रुपमा रहेको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।

मेला प्रवेशका लागि सर्वसाधारणलाई १ सय र विद्यार्थीका लागि ६० रूपैयाँ कायम गरिएको छ । अवलोकनकर्ताले खरिद गर्ने १ सयको टिकटबाट १० र विद्यार्थीले खरिद गर्ने टिकटबाट ५ रूपैयाँ जाजरकोट भुकम्पपीडितलाई प्रदान गरिने अध्यक्ष प्रजापतिले जानकारी दिए ।

मेलाबाट ९० लाख आम्दानी हुने र ८० लाख खर्च हुने आयोजकको अनुमान छ । बचत १० लाख उद्यमशीलता प्रवद्र्धन तथा व्यावसायीहरूको क्षमता अभिवृद्धिका लागि खर्च गरिने संघका महासचिव बलराम आचार्यले जानकारी दिए ।

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति उमेश धमलाको संयोजकत्वमा २ सय १ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना हुने मेलाको पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउस अन्तर्गत लक्ष्मी हुन्डाइ, समृद्धि स्टिल्स र सुजल फुड्सको मुख्य प्रायोजक रहेको छ ।