१० अर्ब निक्षेप संकलनकाे आज बोलकबोल गर्दै केन्द्रीय बैंक

-



     सफल आवाज    
     मंसिर २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १० अर्बको निक्षेप संकलन उपकरणको लागि आज मंसिर २० गते बोलकबोल हुने बताएको छ ।

राष्ट्र बैंकले तोकिएका विशेषता तथा शर्तहरु कायम गरी ७ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने बताएको छ ।

बोलकबोलको विधि अनलाइनबाट हुने जनाइएको छ । यसका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरबाट मात्रै बोलकबोल हुने जनाईएको छ ।

बैंकले बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने जनाएको छ । रकमको साँवा व्याज मंसिर २७ गते भुक्तानी गरिने भएको छ । यसका लागि घटीमा रुपैयाँ १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म यसको दायरा रहेको छ ।

बैंकले सो रकम राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धिताको रुपमा प्रयोग गर्न सक्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत लिएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्रै सहभागि हुन पाउने जनाईएको छ ।