सामाजिक सञ्जालमा सेयर खरिद बिक्री गर्न उक्साउनेलाई कारवाही गर्ने सेबाेनकाे चेतावनी

-



     सफल आवाज    
     मंसिर २३ गते २०८० मा प्रकाशित



काठमाडाैं, २३ मंसिर । नेपाल धितोपत्र बोर्डले सामाजिक सञ्जालमा सेयर खरिद बिक्री गर्न उक्साउनेहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

सेबाेनले विभिन्न सामाजिक संजालमा, फेसबुक, युट्युब, क्लबहाउस् लगायतका सामाजिक सञ्जालमार्फत सेयर खरिद बिक्रीका बारेमा वजारलाई प्रभाव पार्ने काम गरेकाे भन्दै कारबाहीकाे चेतावनी दिएकाे हाे ।

नेप्से परिसूचक तथा नेप्सेमा सूचिकृत संगठित संस्थाको सेयरमूल्य घट्ने, बढ्ने बारेमा टिकाटिप्पणी हुने गरेकाे र यसले बजारलाई प्रभावित पार्ने भएकाेले र यसका विरूद्ध उजुरी परेको जनाउदै सेबाेनले कारवाही गर्ने चेतावनी दिएको हो ।

बोर्डले सेयर खरिद बिक्री गर्ने वा नगराउने कार्यमा उत्साहित गराउने खालका अनाधिकृत अन्तरवार्ता र अभिव्यक्तिबाट बजारलाई प्रभावित पार्न खोजिएकाेले प्राप्त गुनासो र उजुरीहरुकाे आधारमा गम्भिर ध्यानाकर्षण भएको बाेर्डले जनाएकाे छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न वा अरुसँग मिलेमताेमा सेयर खरिद गर्न वा वा बेच्न उक्साउन निषेध गरेकाे छ । त्यस्तो कार्य नगर्न नगराउन बोर्डले निर्देशन दिएको छ ।

संचार माध्यम वन सामाजिक सञ्जाल वा र अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयर खरिद विक्री गर्न वा नगर्न र बजारको स्वतन्त्र संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने कार्य तुरून्त रोक्न बोर्डले सूचनामा जनाएकाे छ ।