नेप्सेमा छायो हरियाली, ४ अर्ब ३० करोडको कारोबार

- शिवम सिमेन्टको कारोबार अब्बल

-



     सफल आवाज    
     मंसिर २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा हरियाली छाएको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरु उत्साहित भएका छन् ।

सेयर बजारका जानकारहरुले अघिल्लो वर्षको भन्दा यसपाली नेपाल राष्ट्र बैंक अर्थबजारका लागि लचक भएको र मैत्रीपूर्ण व्यवहार स्वरुप मौद्रिक नीति आएकोले त्यसको सकारात्मक प्रभाव परेको मानिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.८९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.९४ अंकले बढेर ३७४.३६ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल २९७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ २६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको १८ करोड ७ लाख ११ हजार ४८८ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ५.११ प्रतिशतले घटेको छ ।