गरिमा र सांग्रिला डेभलपमेन्ट बैंकले घटाए निक्षेपकाे ब्याजदर

-



     सफल आवाज    
     मंसिर २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ मंसिर। बाणिज्य बैकहरूले जस्तै विकास बैंकहरुले पनि निक्षेपकाे ब्याजदर घटाउन सुरू गरेका छन् । आज गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले ब्याजदर घटाएकाे सुचना प्रकाशित गरेका छन् । दुवै बैंकले आजैदेखि साे ब्याजदर लागू भएकाे बताएका छन् ।

गरिमा विकास बैंकले सूचना प्रकाशन गरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.४० प्रतिशत दिने भएकाे छ । यो ब्याजदर १ वर्षमाथिको मुद्दति निक्षेपकाे लागि हो। १ वर्षभन्दा कमको मुद्दति निक्षेपको ब्याजदर भने ९.३० प्रतिशत कायम भएकाे छ। 

गएकाे मंसिर १ गतेदेखि लागू हुने गरि १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर ९.७५ प्रतिशत कायम भएकाे थियो । १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ९.५० प्रतिशत थियो । 

सांग्रिला डेभलपमेन्ट बैंकले आजबाटै लागू हुनेगरि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत दिने बताएकाे छ । यो १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर हो । ३ देखि ६ महिनाभन्दा मुनीको मुद्दति निक्षेपको ब्याजदर ८ प्रतिशत निर्धारण गरिएकाे बताइएकाे छ।

बैककाे गएकाे मंसिर १ गतेदेखि लागू हुनेगरि १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर १०.६० प्रतिशत कायम भएकाे थियो । १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर भने १०.५० प्रतिशत कायम भएकाे थियो ।