राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेश सरकारसँग माग्याे सुझाव

-



     सफल आवाज    
     मंसिर २८ गते २०८० मा प्रकाशित



सुर्खेत, २८ मंसिर । कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री राजकुमार शर्माले संघीय सरकारबाट विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गरेका छन् । १६ औँ योजनाका लागि सुझाव लिन बुधबार राष्ट्रिय योजना आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मूख्यमन्त्री शर्माले यस्तो गुनासो गरेका हुन् ।

१६औँ पञ्चवर्षीय योजना कस्तो बनाउने भन्ने सुझाव लिनका लागि आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. तोयनारायण ज्ञवाली, सहसचिव महेश भट्टराईसहितको टोली सुर्खेत आइपुगेको छ । सुझाव दिने क्रममा मूख्यमन्त्री शाहीले आफ्नो योजना आफै बनाएर द्रुत विकास गर्ने सपना प्रदेश सरकारको रहेको बताए । तर, संघीय सरकारको सहयोग नहुँदा प्रदेश सरकारको सपना साकार हुन नपाएको उनको भनाइ छ ।

कर्णाली प्रदेश अन्य प्रदेशहरु भन्दा पछाडि छ । कर्णाली प्रदेशभित्र आन्तरिक उडानहरु नभएको मात्रे होइन सडकसञ्जालको अवस्था पनि एकदमै दयनीय रहेको छ । ‘कर्णाली प्रदेश धेरै पछाडि देखिएको स्पष्टै छ, तर हामी पछाडि परेको होइन, पछाडि पारिएको हो’ मूख्यमन्त्री शर्माले भने, ‘हामीले क्षतिपुर्ति पाउनुपर्छ ।’ यद्यपि, राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएको भन्दै आयोग उपाध्यक्ष डा. श्रेष्ठ र टिमलाई धन्यबाद दिएका थिए ।