सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने

-



     सफल आवाज    
     पौष १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० पुस । सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा संसद्को तीन ठूला दलहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने समझदारी जुटेको हो ।

बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणका लागि संसदीय समितिमा रहेको विधेयकलाई अगाडि बढाउन दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले शीर्ष नेताबीच पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बनाउने सहमति भएको जानकारी दिए । आउँदो हिउँदे अधिवेशनबाट उक्त विधेयक संसद्मा प्रस्तुत हुने बताए ।

दलका कानुनविद्समेतलाई राखेर भएको छलफलबाट पीडितकेन्द्रित सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउने दिशामा दलहरू सहमत भएको उनको भनाइ छ । सचेतक बर्तौलाले आफ्नो पार्टीले पीडितलाई केन्द्रित कानुन बनाउनुपर्ने अडान राखेको बताए। उनले भने, “पीडितकेन्द्रित कानुन बनाउने हो भने एमाले सहमतिसाथ जान तयार छ । प्रधानमन्त्रीले त्यसलाई हिउँदे अधिवेशनमा मिलाएर लैजान तयार छु भन्नुभएको छ ।”

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा कांग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको थियो ।