
जुम्ला, १४ पुस । मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन ।
यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको रारा ताल समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको छ ।
रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र दुई सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धैरेजसो आन्तरिक पर्यटक जाने गर्छन् । रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल रहेको छायाँनाथरारा नगरपालिका–७ का बासिन्दा राजु मल्लले जानकारी दिए ।
रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिलीचौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडाको व्यवस्थासमेत छ । सवारी साधन छाडेपछि करिब ३० मिनेटको यात्रापश्चात तालको छेउ पुग्न सकिन्छ । राराताल मुगुको मात्रै नभएर देशकै गहना हो । यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको छ ।
कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार रारालाई बनाउन स्थानीय तहदेखि प्रदेश सरकारले उचित नीतिको व्यवस्थापनमा जोड दिन आवश्यक रहेको छायाँनाथराराका स्थानीय बताउँछन् । निकुञ्जका अधिकतम भाग मुगु र केही भाग जुम्लामा पर्दछन् । तालको क्षेत्रफल १० दशमलव ६५ वर्ग किलोमिटर छ । यस तालको लम्बाइ करिब पाँच किमी, चौडाइ तीन किमी र गहिराइ एक सय ६७ मिटर छ ।
नेपालको सबैभन्दा ठूलो तालका रूपमा रहेको रारा सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तरराष्ट्रिय महत्व समेत दर्शाउँछ । पर्यापर्यटनको अधिकतम सम्भावना भए पनि भौगोलिक विकटता र यातायातको अभावका कारण यहाँ पर्यटनको समुचित विकास हुन बाँकी नै रहेको छ । मध्यवर्ती क्षेत्रको मुख्य आम्दानीको स्रोत नै निकुञ्जको पर्यटन भएकाले मध्यवर्ती क्षेत्रको आम्दानी पनि न्यून रहेको छ ।
जुम्लाबाट हिँडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहेक पनि नेपालगञ्ज तथा सुर्खेतको वीरेन्द्रनगरबाट पनि गाडी रिर्जब गरेर रारा तालसम्म पुग्न सकिन्छ । सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्ग हुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेउमा पुग्न सकिन्छ ।
रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नुपर्छ । जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घण्टाको हिँडाइमा डाँफेलेक पुग्न सकिन्छ । डाँफेलेक पुग्दा बीचमा पानी खान पाइने ठाउँ छैन । आफैँले पानी बोक्नुपर्छ । रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ ।
डिसेम्बरदेखि मार्च महिनासम्म एक मिटरसम्म हिउँ पर्ने हुँदा यहाँको तापक्रम शून्यभन्दा पनि तल हुने भएकाले यो समयमा उपयुक्त हुँदैन । दसैँ तथा तिहारको बीचमा रारा घुम्न आन्तरिक पर्यटक बढी आउने गरेको छायाँनाथरारा–७ मा रहेको जीविका होटल एन्ड रेष्टुरेन्टका सञ्चालक अविनारा बुढाको भनाइ छ । दसैँ र तिहारको बीचमा यहाँका होटल आन्तरिक पर्यटकले भरिपूर्ण हुने गरेका छन् । पर्यटकलाई राम्रो सेवासुविधा दिनका लागि कुनै कुरामा कमी नगरेको होटल सञ्चालक बुढाले जानकारी दिए ।
रारा पुगेर जुम्ला फर्केका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नूपेन्द्र महतले रारासम्म पुग्नका लागि सडक मार्गको स्तरवृद्धि गर्न जरुरी रहेको बताए। रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार गत साउन १ देखि मङ्सिर मसान्तसम्म आन्तरिक पर्यटक छ हजार ७५, सार्क मुलुकका २६ र अन्य विदेशी नौ हजार नौ सय गरी पाँच महिनामा छ हजार दुई सय पर्यटकले रारा भ्रमण गरेका छन् ।
यस वर्ष रारामा आन्तरिक तथा बाह्य पर्यटक आगमनको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयका सूचना अधिकारी धितालले जानकारी दिए। पाँच महिनाभित्र पर्यटकबाट करिब रु १८ लाख राजस्व असुली भएको निकुञ्जले जनाएको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




