रूपैयाँ २५ अर्ब निक्षेप संकलनको बोलकबोल आज

-



     सफल आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ पुस । राष्ट्र बैंकले बजारमा रहेकाे अधिक तरलताको व्यवस्थापन गर्नका लागि रूपैयाँ २५ अर्बकाे निक्षेप संकलन उपकरण जारी गर्ने बताएकाे छ ।

केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणको बोलकबोल हुने भएकाेले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलतालाई खिच्न निक्षेप संकलनबाट रूपैयाँ २५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बुधबार आजै दिउँसो २ बजेसम्म बोलकबोलका लागि आवेदन दिन सक्ने भएका छन् । बजारकाे अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणकाे प्रयोग गर्दछ ।

राष्ट्र बैंकका अनुसार १४ दिनका लागि साे उपकरण प्रयोग गर्न लागेको हो । जसकाे साँवा र ब्याज माघ ३ गते भुक्तानी गरिने भएकाे छ । 

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न पाउने भएका छन् ।  मंगलबार पनि राष्ट्र बैंकले बजारबाट रूपैयाँ १० अर्ब तानेको थियो ।

निक्षेप संकलन बोलकबोल भनेको के हो ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो ।

यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।