सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १० करोड नाघ्याे

-



     सफल आवाज    
     माघ ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ माघ । बालुवाटारमा केन्द्रीय कार्यालय रहेकाे सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण आज प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनाकाे अवधिमा १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी ३.५९, कमिशन आम्दानी ४१.४० र कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.८३ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको सञ्चालन मुनाफा ३९.२१ प्रतिशत घटेको देखिएको छ।

बैंकको ६ महिनाको अवधिमा वितरणयोग्य मुनाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक र प्रतिशेयर वितरणयोग्य मुनाफा १२ रुपैयाँ ४५ पैसा ऋणात्मक देखिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २२ पैसा घटेर ५ रुपैयाँ ८४ पैसामा झरेको छ । मूल्य आम्दानी अनुपात ५४.७७ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ५१ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिएकाे छ।