भरतपुरमा वैकल्पिक रेलमार्गको अध्ययन गर्न समिति बनाईने

-



     सफल आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित



चितवन, ११ माघ । भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा १ हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ ।

भरतपुर महानगरपालिकाले बोलाएको छलफल कार्यक्रममा वैकल्पिक मार्गका बारेमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । रेल विभाग, परामर्शदाता कम्पनी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला छलफलमा सहभागी थिए ।

महानगर प्रमुख रेनु दाहालका अनुसार महानगर, रेल विभाग र कोरियन परामर्शदाताका प्रतिनिधि सहभागी भएर वैकल्पिक रेलमार्गको अध्ययन गर्ने सहमति भएको हो ।

महानगरपालिकाले भरतपुर वडा नं ११ र १२ को वन क्षेत्रको सीमाबाट वैकल्पिक रेलमार्ग प्रस्ताव गरेको छ । यसैगरी राप्ती नदी किनार हुँदै दोस्रो विकल्प महानगरले प्रस्ताव गरेको छ । यी मार्गको अध्ययन गर्न लागिएको हो ।

प्रमुख दाहालका अनुसार अहिले प्रस्तावित रेलमार्गमा महानगरपालिकाको वडा नं ८, ७, ४ र १६ का एक हजारभन्दा बढी घरधुरी पर्दछन् ।

बाक्लो बस्ती हुँदै रेलमार्ग सम्भावना नहुने भएकाले वैकल्पिक मार्गको प्रस्ताव गरेको उनले जानकारी दिए। रेलमार्ग प्रस्ताव गरिएका क्षेत्रका बासिन्दाले ठूलो नोक्सान हुने भन्दै सङ्घर्ष समिति बनाएर दबाब दिँदै आएका छन् ।

स्थानीयको मागपछि केही दिनअघि महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सचिव, रेल विभागका महानिर्देशकलगायतको उपस्थितिमा महानगरपालिकाले छलफल गरेको थियो ।

छलफलमा रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालसहित विभागका परामर्शदाता कम्पनीका इञ्जिनियरहरुको सहभागिता रहेको थियो ।