अब नबिल बैकबाट १.५ प्रतिशत ब्याजदरमा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ पाइने

-



     सफल आवाज    
     माघ १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ माघ । नबिल बैक लिमिटेडबाट अब १.५ प्रतिशत ब्याजदरमा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ पाइने भएकाे छ । बैंकले वैदेशिक रोजगारीबाट सीप सिकेर नेपाल फर्केका युवाहरूलाई प्रोत्साहन गर्न दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको बताएकाे छ।

स्वदेशमै उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवारलाइ लक्षित गरी १० करोड रुपियाँसम्मको कर्जा दिने याेजना ल्याएकाे बैंकले जनाएको छ । बैंकले न्यूनतम १५ लाख रुपियाँदेखि अधिकतम १० करोड सम्म ऋण दिनेछ।

बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रुपियाँको कर्जा समेत प्रदान गर्ने बताएकाे छ। नबिल बैंकले लगानी थप गरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख देखि १ करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको समेत बताएकाे छ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको बताए । ‘हामी फाईदा अन्य सेवाहरुबाट पनि लिन्छौँ, यो नितान्त हामीले सेवाको लागि ल्याएको योजना हो’, अध्यक्ष पौडेलले भने, ‘यो मन बाट आएको योजना हो ।’

प्रवासी नेपालीहरूले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्नसक्ने वातावरण नबिल बैंकले याे कर्जा योजना ल्याएको पौडेलले बताए।

बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई १५ देखि १० करोडसम्मको सहुलियतपूर्ण कर्जा दिने योजना ल्याएको बताए ।

‘विदेशमा गएका नेपाली श्रमिकहरूले नबिल बैंकको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने गर्छ’, ढुङ्गानाले भने, ‘औपचारिक रूपमा रेमिट्यान्स आउँदा आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी हामीले योजना ल्याएको हो ।’

उक्त कर्जाले कर्जा मात्रै नभएर सीपको उपयुक्त प्रयोगमा पनि जोड दिने ढुङ्गानाको भनाई थियो  । साे कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ ।

सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठुलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रुपियाँसम्म कर्जा दिनेछ । कर्जाका लागि धिताेको आवश्यकता पर्नेछ भने कर्जामा १.५ प्रतिशत ब्याजदर लाग्नेछ ।