काठमाडौंमा आज यस वर्षकै न्यून तापक्रम

-



     सफल आवाज    
     माघ १३ गते २०८० मा प्रकाशित



काठमाडौँ, १३ माघ । उपत्यकामा आज यस वर्षकै न्यून तापक्रम भएकाे छ। हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ ।

काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम २ दशमलव ५ डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मिनकुमार अर्यालले जानकारी दिए ।

आज बिहान ५ बजेतिर न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री मापन भएकामा अहिले विहान ९ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ । दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो । जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए ।

उनले अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको बताए । अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उनले बताए ।